• Menu

उपनिर्वाचनको परिणाम उत्साहपूर्ण रहेको माओवादी निष्कर्ष, २०८४ मा एक्लै चुनाव लड्ने निर्णय

नेपाल प्रफिट

२०८१ मंसिर २०, ११:४६

उपनिर्वाचनको परिणाम उत्साहपूर्ण रहेको माओवादी निष्कर्ष, २०८४ मा एक्लै चुनाव लड्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणाम उत्साहजनक भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले आगामी निर्वाचन आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ ।’

यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।

भएभरका सबै दल मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट,  उदयपुर, गोरखा, धनुषा र डोल्पाका वडामा भारी मतान्तरले विजयी भएपछि माओवादी उत्साहित भएको हो ।

पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जितकै रुपमा लिएको उनले बताए ।

‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ,’ उनले भने, ‘जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिँदै पार्टीले आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ ।’

जनताले पनि आफ्नो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेको उनले दाबी गरे । बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै बैठकले सरकारको प्रभावकारिता शून्य रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले बताए ।

माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको विरोध गरेको छ । ‘प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ तर यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ,’ उनले भने ।

सरकारले विचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको आरोप पनि माओवादीले लगाएको छ । आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिक रुपमा नै अघि बढ्ने उनले जानकारी दिए ।