• Menu

प्राइम बैंकको लाभांश पारित, सीईओ मानन्धर भन्छन्- प्रतिकूलताका बाबजुद राम्रो गरिरहेका छौँ

नेपाल प्रफिट

२०८१ मंसिर २०, ११:३१

प्राइम बैंकको लाभांश पारित, सीईओ मानन्धर भन्छन्- प्रतिकूलताका बाबजुद राम्रो गरिरहेका छौँ

काठमाडौं । प्राइम कमर्सियल बैंकको लाभांश पारित भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट घोषणा गरेको ५ प्रतिशत लाभांश बुधबारको साधारण सभाबाट पारित भएको हो ।

बैंकको चुक्ता पुँजी हाल १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड अर्थात् १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको जानकारी दिए ।

बैंकले सञ्चालन नाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले वृद्धि गरी ७ अर्ब ५१ करोड आर्जन गरेको छ । ‘यसले दीर्घकालीन रुपमा सेयरधनीलाई दिन सक्ने उच्चतम् प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको छ,’ उनले भने, ‘आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको छ ।’

त्यस्तै प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैरकोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेख्य वृद्धि गर्दै लगेको बताए ।