बेइजिङ । नेपाल र चीनबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । दुई मुलुकका प्रधानमन्त्रीबीचको दुई पक्षीय वार्तापछि उनीहरुकै उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
त्यसअघि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल मंसिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संघीय सांसदलगायत सहभागी छन् ।