• Menu

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति, ८ करोड ५८ लाख राजस्व संकलन

नेपाल प्रफिट

२०८१ मंसिर १४, शुक्रबार २१:१३

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति, ८ करोड ५८ लाख राजस्व संकलन

काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका २ सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् ।

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए । उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका ४ सय ८१ जनाले अनुमति लिएका छन् ।

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका ३ सय ८, हिम्लुङ आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् । हिमाल आरोहणवापत ८ करोड ५८ लाख ८३ हजार ४ सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । मनास्लु र हिम्लुङको आरोहण सकिएको छ। अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ ।