• Menu

लगानी बोर्ड बैठक

बूढीगण्डकीसहित तीन जलविद्युत परियोजनाका लागि १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

नेपाल प्रफिट

२०८१ मंसिर १३, २२:४१

बूढीगण्डकीसहित तीन जलविद्युत परियोजनाका लागि १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको ६०औँ बोर्ड बैठकले ६५७ मेगावाट क्षमताका तीन जलविद्युत परियोजनाका लागि १ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

यसैगरी, बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी  प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे ।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ को निर्णयका आधारमा बोर्डको रणनीतिक र व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराए ।