काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रंगशाला पुनर्निर्माण सुरु गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेपछि बिहीबारदेखि पुनर्निर्माण सुरु भएको हो ।
निर्माणाधीन रंगशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार पाँच सय जनाको हुने महानगरले जनाएको छ । २२ करोड ९५ लाख ९३ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमानसहित बोलपत्र आह्वान गरिएकामा १८ करोड ८६ लाख ७४ हजार आठ सय २७ रुपैयाँमा सम्झौता भई शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ ।
रंगशाला पुनर्निर्माणको शिलान्यास गर्दै उपप्रमुख डंगोलले महानगरले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत रंगशाला पुनर्निर्माण गर्न लागेका हौँ,’ उनले भनिन् ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने विविध कार्यक्रम सञ्चालन भइरहेकाले यो प्रयासबाट राष्ट्रिय पहिचान दिनसक्ने खेलाडी प्राप्त हुने अपेक्षा उनले राखिन् ।
वडामा रंगशाला पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने काठमाडौं महानगरपालिका ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए । ‘वडामार्फत टोल तथा चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल मैदान निर्माण हुनेछ,’ उनले भने ।
रंगशालाको डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको छ । उक्त खेलमैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ भने वरिपरि सिमा पर्खाल हुनेछ ।
साथै २८ वटा चार पाङ्ग्रे र एक सय ७८ वटा दुई पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थाल हुने वडाध्यक्ष प्रजापतिले जानकारी दिए । रंगशालाको भुइँतलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् ।
साथै एउटा फिजियोथेरापी कक्ष, पुरुष र महिलाका लागि तीन/तीन वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुई वटा टिम लकर राखिनेछ ।
निर्माणका लागि वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । छनोट भएका निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको महानगरले जनाएको छ । निर्माण कम्पनीले २०८२ चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ ।