काठमाडौँ । धरहराबाट नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा परिसरबाट एनपीएल ट्रफीको सोमबार अनावरण गरेका हुन् ।
ट्रफी अनावरण गर्दै उनले लिगले नेपालको पर्यटन प्रवर्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।
‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले हरेक क्लब र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गरे । ‘नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो,’ उनले भने ।