• Menu

एमालेले आयोजना गरेको मंसिर ७ को जागरण सभामा अनिवार्य उपस्थित हुन प्रेस चौतारीको निर्देशन

नेपाल प्रफिट

२०८१ मंसिर ३, २०:०५

एमालेले आयोजना गरेको मंसिर ७ को जागरण सभामा अनिवार्य उपस्थित हुन प्रेस चौतारीको निर्देशन

काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा (एमालेले) मंसिर ७ मा आयोजना गर्न लागेको जागरण सभामा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । जागरण सभालाई विशेष बनाउने सम्बन्धमा निर्णय गर्न सोमबार बसेको बैठकले व्यापक जनसहभागिता बढाउन र अनिवार्य उपस्थितिका लागि नेता र संगठनका सदस्यलाई निर्देशन दिएको हो ।

एमालेले मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा आयोजना गरेको छ ।

एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सबै शक्ति परिचालन गर्ने निर्णय गरको महासचिव हिरामान लामाले जानकारी दिए । बैठकले जागरण सभामा सक्रिय सहभागिता जनाउन सबै उपत्यकावासीलाई अपिल गरेको छ ।

त्यस्तै प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन निर्देशन दिइएको छ ।

कुनै बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सबै सदस्यको बीचमा सार्वजनिक गर्ने चेतावनीसमेत बैठकले दिएको छ ।

बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कहीँ कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रवृत्ति मौलाएकाले कडाइ गर्न लागिएको बताए । ̍आन्दोलनको बेला बहानाबाजी गरेर आफ्नो स्वार्थपूर्तिमा लाग्नेहरु अब संगठनबाट बिदा हुनका लागि तयार रहनुहोला,̍ चेतावनीको शैलीमा उनले भने ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमती प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशका इन्चार्ज, सहइन्जार्ज र अगुवा नेताहरुको उपस्थिति थियो ।