• Menu

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

नेपाल प्रफिट

२०८१ कात्तिक २९, १७:२१

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन् ।

बिहिबार शिक्षा परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा परिषद् बैठकको अध्यक्षता गर्दै उनले शैक्षिक उपलब्धिमा सुधार गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी हुन् । उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्‍याउनसमेत निर्देशन दिइन् ।

भट्टराईले प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमतिपत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि त्यक्त गर्दै जनसेवामा समर्पित भएर काम हुन कर्मचारीलाई आग्रहसमेत गरिन् ।

एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक एवं चित्रांकनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब समेत उनले दिइन्।

बैठकपछि उनले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखालगायत सानो ठिमीस्थित बिभिन्न शैक्षिक संस्थाको आकस्मिक निरीक्षणसमेत गरिन्।

निरीक्षणका क्रममा भट्टराईले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बन्धमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिइन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग अन्तरक्रिया एवं अनुगमनमा भट्टराईले भनिन्, ‘अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्नुस, पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढंगले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।’