काठमाडौं । नेपाल पहिलोपटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबारको निर्णायक खेलमा यूएईलाई २ विकेटले हराउँदै नेपालले २०२५ जनवरीमा हुने विश्वकपमा स्थान पक्का गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाएकी थिइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । त्यस्तै रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् भने कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । त्यस्तै सोनी पाख्रिनले १३ र सावित्री धामीले १२ रन बनाए ।
नेपालले १६.२ ओभरमा लक्ष्य भेट्टाएमात्र यूएईलाई नेट रनरेटमा उछिनेर समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने अवस्था थियो । तर, नेपालले १४.४ ओभरमै खेल जित्दै रनरेटका आधारमा लक्ष्य चुमेको छ ।