• Menu

पाथीभरा केवलकार शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

नेपाल प्रफिट

२०८१ कात्तिक २४, शनिबार १०:०७

पाथीभरा केवलकार शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले केवलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देवीको जय–जयकारसहित केवलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केवलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ उनले भने ।

पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने नगर प्रमुख मादेनले बताए । केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनले स्पष्ट पारे ।

यसअघि केवलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केवलकार निर्माणको औपचारिक शिलान्यास भएको केवलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले अबको १५ महिनाभित्र केवलकार चढ्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केवलकार लाभदायक बन्नेछ ।