• Menu

निर्माणको ठेक्का लिएर काम नगरेपछि कांग्रेस सांसद एवं ऊर्जा राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा

नेपाल प्रफिट

२०८१ कात्तिक २३, शुक्रबार ०९:३९

निर्माणको ठेक्का लिएर काम नगरेपछि कांग्रेस सांसद एवं ऊर्जा राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा

काठमाडौं । निर्माणको ठेक्का लिएर काम नगरेपछि नेपाली कांग्रेसका सांसद एवं ऊर्जा राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले कांग्रेस सांसद पूर्णबहादुर तामाङको कम्पनी कान्छारामलाई अढाई वर्षका लागि कालोसूचीमा राखेको हो । रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित तामाङ ऊर्जा जलस्रोत तथा राज्यमन्त्री छन् ।

कार्यालयको शुक्रबारको सूचनाअनुसार कान्छाराम/एनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सनसहित १४ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । निर्माणको ठेक्का लिएर समयमा काम नगरेपछि विभिन्न निकायको सिफारिसमा ती कम्पनीलाई एकदेखि अढाई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

कन्चनजंघा/बिरूवा जेभीको द कन्चनजंघा कन्स्ट्रक्सन कम्पनी प्रालि र बिरूवा कन्स्ट्रक्सन पनि अढाई वर्षका लागि कालोसूचीमा परेका छन् । त्यस्तै पोखराको बिजी निर्माण सेवा प्रालिलाई पनि कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको छ ।

बिजी निर्माण सेवा, पूजा कन्स्ट्रक्सन, साह निर्माण सेवा, स्काई लाइन कन्स्ट्रक्सन, शक्ति निर्माण कम्पनी, आरएन बिल्डर्स, यूभी इन्जिनियरिङ कन्सल्टेन्सी, नाट्येश्वरी निर्माण सेवा, महालक्ष्मी एन्ड कम्पनी र विर्ता कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेकाहरूले त्यो अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था छ ।