मोरङ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको छ । गम्भीर आरोप लागेपछि नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सदस्य अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनी सामान्य प्रक्रिया पनि पूरा नगरी सांस्कृतिक कार्यक्रमका लागि भन्दै कात्तिक १३ मा जापान उडेका थिए । तर, जापानको टोकियो विमानस्थलबाट उनीसहित चार जना डिपोर्ट भएर फर्किएपछि घटना बाहिर आएको हो ।
अधिकारी व्यक्तिगत भन्दै जापान यात्रामा निस्किए पनि अरु तीन जनाबाट प्रहरीले कानुन मन्त्रालयकै नक्कली परिचय पत्रहरु फेला पारेको छ । डिपोर्ट भएर फर्किएलगत्तै प्रहरीले ती तीन जना र नेपालमा नक्कली कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । त्यसरी लगिएका व्यक्तिले १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको वयान दिएका छन् ।
तर, प्रहरीले तस्करीमा संलग्न रहेको आरोप लागेका अधिकारीलाई पक्राउ गरेको छैन । जापान उड्नुअघि निम्तो आएका कारण व्यक्तिगत रुपमा जान लागेको भन्दै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोनबाट सामान्य सूचनामात्रै दिएका थिए । उनको भ्रमण नियमानुसार स्वीकृति भएको थिएन । त्यसले पनि मन्त्री अधिकारीको नियत शंकास्पद देखिएको हो ।
अधिकारी काठमाडौंको त्रिभुवन विमानस्थलबाट एक्लै उडेका थिए । हङकङको ट्रान्जिटका बेला भ्रमण दलका सदस्य उनीसँग खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा मिसिएका थिए ।
‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रमका लागि निम्ता पाएर अधिकारी त्यसतर्फ लागेका हुन् । कार्यक्रमको निम्ता मोरङको रतुवामाई नगरपालिका घर भई काठमाडौं बस्दै आएका गोपाल गौतमले दिएका थिए । एमाले कार्यकर्ता गौतम ठेकेदार हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विमानस्थल प्रहरीले पक्राउ गरेका सेर्पा, राई र देवकोटाको वयानका आधारमा प्रहरीले दोलखाको जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोटको विदुर नगरपालिका–७ का जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा सुनुवार, रिजालले र पाण्डेले कागजपत्र मिलाएको भेटिएको हो । अनधिकृत रुपमा जापान पठाउने गिरोहमा थुप्रै व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
भिसाका लागि अन्तर्वार्ताको मिति सार्न आग्रह गर्दै पत्र लेखेको आरोपमा उपसभामुख इन्दिरा रानामगरमाथि मानव तस्करी गरेको आरोप लागएको थियो । त्यसबेला एमालेका सांसदहरूले नै चर्को स्वर गरेका थिए ।
एमालेका सांसदहरूले त्यसबेला बारम्बार सदनमा प्रश्न उठाए । प्रमुख सचेतक महेश बर्तौला, दामोदर पौडेल बैरागीलगायतले उपसभामुखमाथि यथाशीघ्र छानबिनको माग गरेका थिए ।
तर, आफ्नै पार्टीका प्रदेश मन्त्री नै मानव तस्करीमा जोडिँदा उनीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । एमाले पार्टी पंक्ति नै मौन छ ।