• Menu

कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहोल, एमाले र माओवादीबाट एकल सिफारिस, कांग्रेसमा ओइरो

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार २१:०२

कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहोल, एमाले र माओवादीबाट एकल सिफारिस, कांग्रेसमा ओइरो

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनको माहोल सुरु भएको छ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमार्फत नगर प्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर राजनीतिक दलले तयार पारेका उम्मेदवार र सम्भावित परिणामबारे चर्चा सुरु भएको हो ।

नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरुले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख राजकुमार नकर्मीको मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो ।

वडा नं १ का तत्कालीन वडाध्यक्ष हीरालाल महर्जन कलेजो रोगको उपचारका क्रममा र ४ का वडाध्यक्ष श्याम अधिकारीको दुर्घटनामा परी निधन भएपछि प्रमुख र दुई वडाध्यक्ष पद रिक्त छन् ।

सत्तारुढ दलहरुमध्ये नगर प्रमुख पदमा नेपाली कांग्रेसको नगर समितिबाट सभापति कृष्णमान डंगोलसहित ११ जना आकांक्षीको नाम काठमाडौँ जिल्ला समितिसमक्ष सिफारिस गरिएको छ ।

सिफारिस हुने अन्य आकांक्षीमा नगरसमितिकै पूर्वसभापति बद्रीलाल महर्जन, ५ नं वडाका पूर्ववडाध्यक्ष हिमाल कार्की, दिवंगत प्रमुख नकर्मीकी पत्नी जमुना नकर्मी, महिला नेतृ संगीता बोगटी तथा स्थानीय नेताहरु शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।

वडा नं १ का अध्यक्षका लागि नेपाली कांग्रेसका इच्छाकुमार महर्जन, सिकन्दर महर्जन र महेश्वर महर्जन आकांक्षी छन् । यसैगरी वडा नं ४ को अध्यक्षका लागि मुरारी विष्ट, मिलन विष्ट, राजेन्द्र बानियाँ, सुभद्रा सिग्देल, कालुभाइ खड्का, सुजन बस्नेत, इन्द्र बुढाथोकी र अनिल बाँस्कोटा आकांक्षीका रुपमा देखिएका छन् ।

नेपाली कांग्रेसले यसअघि आफूले जितेको प्रमुख र १ नम्बर वडाध्यक्ष कायम राख्दै वडा नं ४ को अध्यक्षसमेत कब्जा गर्ने लक्ष्य लिएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख पदमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेको नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएका उनको नाम बुधबार बसेको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी बैठकले पनि स्वीकृत गरेको छ ।

यसैगरी वडा नं १ मा २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हर्षमान महर्जनलाई एमालेले अघि सारेको छ । त्यस्तै वडा नं ४ को अध्यक्षका लागि बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ ।

पछिल्लो स्थानीय चुनावमा प्रमुख सहित नगरपालिकाका महत्वपूर्ण पदहरु गुमाएको एमाले पुरानो साख फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रा. डा. शिवशरण महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी, माओवादीले वडा नं १ मा अष्टमान महर्जन र वडा नं ४ को अध्यक्षमा नारायण विष्टलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिहीबारबाट मात्र उम्मेदवार छनोट प्रक्रिया थाल्ने जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए । ̍निर्वाचन परिचालन समिति बनेपछि उम्मेदवारीका लागि आवेदन आह्वान हुनेछ । त्यसपछि सर्वसम्मत नभएका पदहरुमा आन्तरिक चुनावबाट उम्मेदवारी छनोट हुनेछ,̍ उनले भने ।

कीर्तिपुरको चुनावी मैदानमा केही स्वतन्त्र उम्मेदवारको समेत चर्चा छ । सफाइ अभियन्ता राजमान मानवले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । भाषा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले पनि नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।