विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु-१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सुदूरपश्चिम प्रदेशले हासिल गरेको छ ।
बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
यसअघि सन् २०२२ मा त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । जितसँगै विजेता टोलीले दुई लाख नगदसहित ट्रफी तथा उपविजेता लुम्बिनीले एक लाखसहित ट्रफी हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ३७.३ बलमा सबै विकेट गुमाएर १२७ रनको योगफल बनायो । सुदूरका लागि अभिषेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७, नरेन राउदले १५, राजेश ऐरले १४ र दीपक रोकयाले ११ रनको योगदान दिए ।
लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमारले १ विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ बलमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो । लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २०, विजय कोहरले १९, समिर अलीले १८ र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २/२ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी बने ।
उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद २५ हजारसहित ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद तीन हजार पुरस्कार ग्राउन्ड स्टाफलाई वितरण गरे ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।