• Menu

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री खड्का

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार २०:२३

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री खड्का

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार  साँझ नेपाल फर्केका  खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायत आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन् ।

‘नेपाल-भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एकआपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,’ खड्काले भने । भारतले नेपालका विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उनले बताए ।

नेपाल सरकारले  २०३५ सालसम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थासँग छलफल गरेको  खड्काले जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसए सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्तिमन्त्री सिआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएका अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद वेंकटेश जोशी र विद्युत  मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका ऊर्जामन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

खड्काले जलविद्युतमा  लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको उल्लेख गरे ।