• Menu

१० महिनामा साढे ९ लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण, किन घट्यो भारतीय र चिनियाँको आगमन ?

नेपाल प्रफिट

२०८१ कात्तिक २०, १५:४७

१० महिनामा साढे ९ लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण, किन घट्यो भारतीय र चिनियाँको आगमन ?

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार ७३२ विदेशी पर्यटक आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय ६ पर्यटक नेपाल आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात् सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

भारतीय र चिनियाँ घटे

बोर्डको विश्लेषणमा अगस्ट, सेप्टेम्बर र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् ।

गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए ।

अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

अमेरिकी पर्यटक बढे

अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कुल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् ।

अष्ट्रेलियाबाट ६ हजार नौ सय २९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बंगलादेशबाट चार हजार चार सय ७६, श्रीलंकाबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार ६ सय ३५ पर्यटक आएका छन् ।

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए ।

सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।