काठमाडौं । सबै समूहमा हरियाली छाएपछि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार ४३ अंकले बढेको छ । दसैँपछि कारोबार खुलेको दोस्रो दिन पनि नेप्से बढेको हो ।
नेप्से मंगलबार पनि ३१.४८ अंकले बढेको थियो । आज बैंक, होटल, जलविद्युत, बिमालगायतका सबै समूह हरियो भएपछि परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ अंकमा उक्लिएको छ ।
आज २०६ कम्पनीको मूल्य बढ्दा ३५ वटाको घटेको छ भने तीनवटा कम्पनीको सेयर मूल्य यथावत् छ । विजय लघुवित्त, इस्टर्न हाइड्रो, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ ।
आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर ५ अर्ब ६६ करोड रुपैयाँबराबरमा किनबेच भएको हो । मंगलबार तीन अर्ब ६ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।