काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका-२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा-९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका-५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल बूढानीलकण्ठ-१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका-२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘मंगलबार दिउँसो करिब ३:२० बजे गोकर्णेश्वर-६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरुले फौजामगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र निजहरु वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो ।’
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले अन्दाजी ६:५० बजेको समयमा उनीहरु तीनै जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।