• Menu

बैँकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ, नेपालमै लगानीको अवसर छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ असोज ३०, बुधबार १२:५८

बैँकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ, नेपालमै लगानीको अवसर छ : अध्यक्ष ढकाल

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको पनि जानकारी दिए । स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने उनको विश्वास छ ।

‘जिल्ला–जिल्लाका व्यवसायी साथीहरु लगानीका लागि अवसर खोजिरहनुभएको छ, त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन,’ उनले भने, ‘यतिबेला बैँकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ, यस्तो बेला नेपालमै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

अध्यक्ष ढकालले डेढ वर्षको अवधिमा लगानी प्रवर्धनका लागि देशभित्र र बाहिर आफूहरुले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराए । आफूहरुकै पहलमा सरकारले लगानीमैत्री वातावरण बनाउन आठवटा कानून संशोधन गरेको पनि उनले बताए ।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय र करसम्बन्धी समस्याका विषयमा पनि आफूहरु निरन्तर लागिरहेको उनले स्पष्ट पारे ।