काठमाडौं । भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशतमात्रै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वर्ष भदौमा ८.१९ प्रतिशत रहेको मुद्रास्फीति चालु आवको भदौमा ३.८५ प्रतिशतमा सीमित भएको हो ।
भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत छ । गत वर्ष भदौमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ र ७.१९ प्रतिशत थियो ।
भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन ।
भदौमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा भदौमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६, मधेसको ३.८२, बागमतीको ३.२९, गण्डकीको ३.५०, लुम्बिनीको ३.५३, कर्णालीको ३.५६ र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत छ ।
भदौमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० भदौमा ती क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ९.८३, ७.०३, ८.०९ र ११.३२ प्रतिशत थियो ।
भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७५ प्रतिशत छ । गत वर्ष भदौमा थोक मुद्रास्फीति ४.७८ प्रतिशत थियो । त्यस्तै उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत छ । भदौमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको छ ।
भदौमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत छ । सन् २०२४ सेप्टेम्बरमा भारतमा मुद्रास्फीति ५.४९ प्रतिशत छ ।