काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । विप्रेषण आप्रवाह गत आवको साउन र भदौको तुलनामा १५.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा साउन र भदौमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । गत वर्ष एक अर्ब ७३ करोड थियो । गएको साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको थियो ।
दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ४८३ रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४ हजार ४५५ थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३२ हजार चार थियो ।