• Menu

नेपालमा लगानीको अवसर खोज्दै कतारका उद्योगी व्यवसायी

महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमति

नेपाल प्रफिट

२०८१ असोज १७, १२:३५

नेपालमा लगानीको अवसर खोज्दै कतारका उद्योगी व्यवसायी

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभएर कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुले रुचि देखिएका हुन् ।

‘कतारका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्तालाई पनि प्रोत्साहित गर्नेछौँ ।’

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधि मण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

काउन्सिलको पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा नेपाल–कतार बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका थिए । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको छ ।

बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारका कारण लगानीको अवसर जुट्दै गएको बताए । साथै, उनले कतारका लगानीकर्तालाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्नवान गरे ।

यसैगरी, कतार सरकारले आयोजना गरेको एसियन को–अपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता जनाएका छन् ।