• Menu

नौ महिनामा आठ लाख १६ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

नेपाल प्रफिट

२०८१ असोज १६, बुधबार १४:४०

नौ महिनामा आठ लाख १६ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौँ । सन् २०२४ को ९ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ । अगस्टको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपेली मुलुकबाट आउने पर्यटक भने बढेका छन् ।

सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ र अगस्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा ६ हजार ६ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए ।

मनसुनका कारण भारतीय पर्यटक घटेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगस्टमा पाँच हजार ६ र सेप्टेम्बरमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलंकाबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगस्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार अगस्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९ सय सात र सन् २०१९ मा ९२ हजार ६ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक ?

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच र जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।