• Menu

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

नेपाल प्रफिट

२०८१ असोज ७, १६:१३

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

काठमाडौं । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले सोमबार एउटा पहलको शुभारम्भ गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको ‘Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth’ शीर्षकको मासिक शृंखलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो कार्यक्रम हाम्रो पर्यटनको भविष्य प्रवर्धन गर्ने पहल भएको बताए । ‘हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं,’ उनले भने । यस्तै अहिलेको पर्यटनको प्रवृत्ति Experience travel को रहेको पनि उनले बताए ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यो कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई जागिर उन्मुख हुनेभन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए । बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतीकरण दिए ।

यस्तै शुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनुपर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन् ।

यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्ने आशा बोर्डले लिएको छ । साथै, यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ ।

यस सत्रले अनुभवी पेसा व्यवसायी, शिक्षक र विद्यार्थीलाई पर्यटनमा नवीनतम् प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसर अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन् ।

सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको पर्यटन क्षमता विकास एकाइमा सम्पर्क गर्नुपर्ने हुन्छ । ‘यो पहल ज्ञान हस्तान्तरणका लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेता बनाउने अभियान पनि हो,’ सीईओ जोशीले भने ।

नेपाल पर्यटन बोर्ड नेपालमा दिगो पर्यटन प्रवर्धन गर्न र प्रमुख पर्यटन गन्तव्यको रूपमा देशको छवि बढाउन प्रतिबद्ध छ । नवीन कार्यक्रम र साझेदारीमार्फत बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।