काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।
संविधान दिवसको अवसरमा असोज ३ देखि ५ सम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएको ग्लोबल आइएमई बैंक विजेता बनेको हो ।
प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका पुरुष र महिलातर्फका टोली सहभागी थिए । अन्तरबैंक फुटसल २०८१ को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक विजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ ।
प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एसिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले सम्पूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशांक निरौलाले हात पारेका थिए । साथै, महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छन् ।
साथै, सबै खेलमा उत्कृष्ट बचाउ गरेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोलरक्षक केशमाया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि हात पारिन् ।
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । अन्तरबैंक फुटसल २०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिलातर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो ।