• Menu

दसैंका लागि अग्रिम टिकट खुलाउने तयारी, भाडा समायोजन छठपछि

नेपाल प्रफिट

२०८१ असोज ६, १३:०७

दसैंका लागि अग्रिम टिकट खुलाउने तयारी, भाडा समायोजन छठपछि

काठमाडौं । दसैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट छिट्टै खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीबीचको छलफलमा अग्रिम टिकट छिट्टै खुलाउने सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायतका प्रतिनिधि सहभागी छलफलमा बीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधनमात्र चलाउने सहमति भएको छ ।

त्यस्तै यातायात मन्त्रालयले रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालयलाई आग्रह गर्ने भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपार्टिङ गर्नुपर्ने छ ।

यस्तै यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि सहमति भएको छ ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा वैज्ञानिक भाडा समायोजन गरिँदै आएकोमा एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेकको कारणले गर्नुपर्ने समायोजन तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पर्वपछिको हप्तामा भाडादर समायोजन गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिने भएको छ ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषय सम्बोधन गर्न विभागलाई निर्देशन दिने एवं अन्य निकायसँग सम्बन्धित सुझाव कार्यान्वयनका लागि अनुरोध गर्ने विषयमा पनि सरोकारवालाहरु सहमत भएका छन् ।

यातायात व्यवस्थापनसँग सम्बन्धित अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न सोही छलफलले विभागलाई निर्देशन दिएको छ ।