• Menu

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ असोज ४, शुक्रबार १९:१६

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभामा शुक्रबार उनले भने, ‘कोभिड महामारी र रुस-युक्रेन युद्धपछि विश्वका अन्य देशजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्‍यौं कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’

महासंघले नै आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुन:स्थापना गर्न सुधारका काम सुरु गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी छ ।

महासंघकै कारण सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेको भन्दा फरक रहेको पनि उनले बताए ।