• Menu

इन्द्रदहमा मेला हेर्नेको घुइँचो

नेपाल प्रफिट

२०८१ असोज २, बुधबार ११:३८


भक्तपुर । इन्द्रजात्राका अवसरमा बुधबार बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मंगलबार साँझ इन्द्रदह पुर्‍याइएको थियो ।

उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी बुधबबार बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको भीड लागेको हो । बुधबबार दिनभर मेला लाग्ने छ भने साँझ उक्त खट देवगृहमा पुर्‍याएपछि जात्रा सम्पन्न हुने संस्कृतिका जानकार प्रा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण पोखरीको नाम इन्द्रदह रहन गएको उनले बताए । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास छ ।