काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको छ । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्चले उनीहरुलाई कैद सजाय र जनही पाँच हजार जरिवाना फैसला गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले आइतबार उनीहरुलाई सजाय सुनाएको हो ।
अदालतसमक्ष क्षमायाचना गरेमा भने उनीहरुले सात दिनमात्र कैद सजाय भोग्नुपर्ने फैसलामा उल्लेख छ । त्यस्तै अनलाइनले क्षमायाचना सहित भूलसुधार गरेमा ५ हजार रुपैयाँ जरिवाना मिनाहा गर्ने आदेश दिइएको छ ।
सिधाकुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चारमाध्यमका सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।
सिधाकुराले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा समाचार प्रकाशन गरेको थियो । सर्वोच्चले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ ।