काठमाडौं । साउनमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ साउनमा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
गत वर्ष २०८०/८१ को साउनमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ छ । गत वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड थियो ।