महोत्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन् ।
बिहीबार प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको बताए ।
महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न आएका उनले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गरे ।
पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताए । मधेसमा बर्दिबास–जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उनले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे ।
‘जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको छ,’ दाहालले भने, ‘भङ्गाहा-बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेका छौँ ।’ भङ्गाहा-बर्दिबास खण्डअन्तर्गत बर्दिबासमा रेलस्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उनले बताए ।
सरकारले राष्ट्रिय महत्वका चाडपर्वअघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँदै मन्त्री दाहालले एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने जानकारी दिए ।
मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन फोरलाइन सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उनले बताए ।
कमला पुल निर्माण गर्दा प्राविधिक पक्षसँग छलफल गरी उनहरुको रायअनुसार अघि बढाइने दाहालले स्पष्ट पारे । सरकार सुदृढ इच्छाशक्तिका साथ योजनाबद्ध रुपमा विकास तथा पूर्वाधार निर्माणमा अघि बढिरहेको बताउँदै उनले यसका सकारात्मक परिणाम विस्तारै देखिने उल्लेख गरे ।
मन्त्रालयका सचिव, हुलाकी सडक कार्यालय मुजेलियाका प्रमुख, रेल विभागका महानिर्देशक, उच्च अधिकारीलगायतले मधेसमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।