अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । यही विभेदका कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौतीपूर्ण भएको उनको तर्क छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नुपरिरहेको बताए ।
‘धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता छ । आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्,’ उनले भने, ‘प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौँ ।’
प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्नेभन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गरे । यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाको एक अंग भएको उनले बताए ।
‘निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ । विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाहरूले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए,’ उनले भने ।
नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको उनले बताए ।
‘गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहनु अनिवार्य छ । त्यसैले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भए पनि आधुनिक र पूर्वाधारसम्पन्न स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय समुदायको साझेदारी आवश्यक छ,’ उनले भने ।
नेपालको स्वास्थ्य क्षेत्रमा सघाउन माउन्ट सिनाइ अस्पतालले तालिम, अनुसन्धान, स्रोत परिचालनमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएकोमा उनले धन्यवाद दिए ।
धुलिखेल अस्पतालका अनुसन्धान निर्देशक डा. राजीव श्रेष्ठले नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको सन्दर्भमा एम्प्याथले मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगको उपचारमा विशेषज्ञ विधा वृद्धि गरी सहकार्य गर्दै आएको जानकारी दिए ।