• Menu

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, मौसमबारे जानकारी लिएर कृषि कर्म गर्न किसानलाई आग्रह

नेपाल प्रफिट

२०८१ असोज ८, १०:३३

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, मौसमबारे जानकारी लिएर कृषि कर्म गर्न किसानलाई आग्रह

काठमाडौँ । केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।