• Menu

फोटो फिचर

सवारी साधनको कुम्भ मेलाका लागि यसरी सिँगारिँदैछ मेला स्थल

नेपाल प्रफिट

२०८१ भदौ १०, १९:०६

सवारी साधनको कुम्भ मेलाका लागि यसरी सिँगारिँदैछ मेला स्थल

काठमाडौं । अटो सोको यो १६औँ संस्करण नाडा अटो सो २०२४ भोलि (भदौ ११) देखि सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सवारी साधनको कुम्भ मेलाका लागि मेला स्थलको सिँगारपटार भइरहेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भदौ ११ देखि १६ सम्म आयोजना हुने नाडा अटो सोमा बीवाईडीको एम-६, टाटाको पन्च, डिपलको एल जेरो सेभेन, अवतार ११, केईको एक्स थ्री प्रो, जिकरलगायत ब्रान्डका गाडी प्रदर्शनीमा राखिँदै छन् । अटो सोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ ।

अटो सोमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ कम्पोनेन्ट ब्रान्डका स्टल रहनेछन् । त्यस्तै, बिमा कम्पनी शिखर इन्स्योरेन्स र नबिल, सानिमासहित सातवटा बैंकका स्टल रहनेछन् ।

मेलामा विद्युतीय सवारी साधन (ईभी)को वर्चस्व रहने भएको छ । नाडा अटो सोको गत संस्करणदेखि विद्युतीय सवारी साधनको बलियो उपस्थिति रहन थालेको हो ।

ईभीमा ग्राहकको आकर्षण उच्च बन्दै गएपछि अटो व्यवसायीहरुले मेलाकै अवसर पारेर अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्रान्डका गाडी भित्र्याएका छन् ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक, गोल्छा अर्गनाइजेसनको कम्पनी जीओ अटोमोबाइल्स, लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटी, टाटा कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङलगायतले विभिन्न मोडलका गाडी अटो सोमार्फत लन्च गर्दैछन् ।

नाडा अटो सोमा अर्को प्रिमियम कार अवतार ११ पनि प्रदर्शनीमा राखिनेछ । दुई ठूला व्यावसायिक घराना चौधरी ग्रुप र एमएडब्लू मिलेर अवतार ११ ल्याउन लागेका हुन् ।

त्यस्तै शारडा ग्रुपको पायोनियर मोटोकर्पले चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्रान्ड जिकर ल्याउने भएको छ । कम्पनीले राइट ह्यान्ड ड्राइभ मोडलको जिकर एक्स ल्याउन लागेको हो । प्रदर्शनीमा सवारी साधनका अलावा सवारी साधनका पार्टपुर्जा र वित्तीय सेवा दिने संघसंस्थाको पनि सहभागिता रहनेछ ।

समितिका संयोजक अनुपकुमार बरालले नाडा अटो सोले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्‍याउँदै आएको बताएका छन् । सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्तालाई प्रदर्शनीले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिको साक्षात्कार गराउने उनको विश्वास छ ।