• Menu

विद्युतीय सवारी आयात करिब चार गुणाले बढ्यो, ५१ देखि १०० किलोवाट रेन्जका सबैभन्दा धेरै

नेपाल प्रफिट

२०८१ भदौ ८, शनिबार १४:३१

विद्युतीय सवारी आयात करिब चार गुणाले बढ्यो, ५१ देखि १०० किलोवाट रेन्जका सबैभन्दा धेरै

काठमाडौं । विद्युतीय सवारी साधन आयातमा उच्च वृद्धि भएको छ । विद्युतीय सवारी साधनमा प्रयोगकर्ताको आकर्षण बढेपछि वितरक तथा विक्रेताले आयात व्यापक बढाएका हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ३४ करोड ६ लाख ११ हजार रुपैयाँबराबरका ११० वटा विद्युतीय सवारी साधन आयात भएकोमा चालु आवको सोही अवधिमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँबराबरका ३८१ वटा आयात भएका छन् ।

विद्युतीय सवारी साधन आयातबाट गत वर्ष साउनमा १८ करोड २३ लाख ९० हजार राजस्व संकलन भएकोमा यो वर्षको साउनमा ५२ करोड १८ लाख २७ हजार राजस्व संकलन भएको छ ।

गत वर्ष साउनमा ५० देखि १०० किलोवाटसम्मका ८१ वटा सवारी साधन आयात भएकोमा चालु आवको साउनमा सोही रेन्जका २१६ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।

नेपालमा चीन सबैभन्दा बढी चीनबाट विद्युतीय सवारी साधन आयात हुन्छ भने भारतबाट केही मात्रामा ल्याउने गरिएको छ । चिनियाँ कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक हो । अहिले नेपालमा बीवाईडी ब्रान्डका विद्युतीय सवारीले वर्चस्व स्थापित गर्दै लगेको छ ।

त्यस्तै टाटा कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिपद्री टेडिङले पनि उच्च मात्रामा विद्युतीय सवारी साधन बेच्न सफल भइरहेको छ । गोल्छा अर्गनाइजेसनको कम्पनी जीओ अटोमोबाइल्स, लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीलगायतले पनि विद्युतीय सवारी साधन आयात तथा बिक्री गर्दै आएका छन् ।

प्राय: भदौमा हरेक वर्ष अटो मेला लाग्ने गर्छ । सवारी साधनको कुम्भ मेला नाडा अटो सो २०२४ मा विद्युतीय सवारी साधन (ईभी)ले वर्चस्व जमाउन थालेको छ । विगत वर्षहरुमा इन्धनबाट चल्ने सवारी साधनको पकड रहने नाडा अटो सोमा हिजोआज विद्युतीय सवारी साधनको बलियो उपस्थिति रहँदै आएको हो ।

नाडा अटो सोको गत संस्करणमा पनि ईभीको सहभागिता उल्लेख्य थियो । ईभीमा ग्राहकको आकर्षण उच्च बन्दै गएपछि अटो व्यवसायीहरुले मेलाकै अवसर पारेर अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्रान्डका गाडी भित्र्याइरहेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भदौ ११ देखि १६ सम्म नाडा अटो सो आयोजना हुँदै छ ।