• Menu

ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ साउन २६, शनिबार १८:०१

ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा : अध्यक्ष ढकाल

कैलाली । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठुला दल मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् ।

मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै उनले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधारका काम गर्नुपर्ने स्पष्ट पारे ।

केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको र प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरुमध्ये छैटौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको उनले बताए । ‘जलस्रोत र पर्यटनमात्रै नभई यहाँको जनशक्ति निक्कै मेहनती छ र युवा नै विकासको संवाहक हुन्छ,’ उनले भने ।

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने प्रतिबद्धता उनले जनाए ।

कैलाली उद्योग वाणिज्य संघको पचासौँ वार्षिक साधारणसभामा जिल्ला अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँचलगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको उनले स्पष्ट पारे ।