• Menu

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याए २१ करोडको कोकिन, भारत लैजान लागेको अनुमान

नेपाल प्रफिट

२०८१ साउन २४, १७:४१

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याए २१ करोडको कोकिन, भारत लैजान लागेको अनुमान

काठमाडौँ । ६ किलोभन्दा बढी अवैध लागु औषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ ।

हातमा बोक्ने सुटकेसभित्र तीनवटा खोलौनामा राखेर २९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको हो ।

ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी ६ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौं आएको अनुसन्धानका क्रममा पाइएको ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलमा खटिएको ब्युरोको टोलीले साधरण जाँचका क्रममा शंका लागेपछि उनको सुटकेट तलासी लिएको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागु औषध अपराधमा संगठित गिरोह लागेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्य बताउँछन् । नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘यसअघि ब्राजिल र अफ्रिकी मुलुकबाट कोकिन ल्याएको भेटिन्थ्यो, त्यतिबेला बढी मात्रामा कोकिनको क्याप्सुल खाएर आउँथे,’ उनले भने, ‘तर अहिले युरोपेली मुलुक लाटभिया, फ्रान्स र कतारको दोहा हुँदै नेपाल ल्याएको अवस्था हो ।’

प्रारम्भिक अनुसन्धानबाट दोहा विमानस्थलबाट कोकिन बोकेर आएको हुनसक्ने देखिएको छ । लागु औषध कारोबारीले नेपाललाई अवैध लागु औषध ओसारपसारको ‘ट्रान्जिट’ बनाउन खोजेको विभिन्न घटनाले देखाउँछ ।

यसअघि प्रहरीले असार ३० गते ठमेलस्थित एक होटलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।