काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए ।
उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे ।
साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेस्टी हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय सरकारले गरेको छ ।
हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरेका छन् । ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो,’ उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ ।’
सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश कहाँ समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए ।