• Menu

बिमस्टेक बिजनेस समिट २०२४

अन्तर्राष्ट्रिय मञ्चमा महासंघ अध्यक्ष ढकालले गरे बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव

नेपाल प्रफिट

२०८१ साउन २३, बुधबार २२:१५

अन्तर्राष्ट्रिय मञ्चमा महासंघ अध्यक्ष ढकालले गरे बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारदेखि आयोजना भइरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा बिमस्टेकमा व्यापार सहजीकरण प्रवर्धन गर्दै ‘इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एन्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापनाको प्रस्ताव गरेका हुन् ।

सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवर्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकासका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको उनको प्रस्तावमा उल्लेख छ ।

ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने पनि बताए । ‘यसैकारण बिमस्टेक सदस्य राष्ट्रहरूबीच थप एकीकृत सञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक छ,’ उनले भने ।

ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्यक्षेत्र र बंगलादेशसँग जोडेर तथा कालादान आयोजनामार्फत म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताए । उनले पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आवतजावतमा सहज हुने धारणा राखे ।

ढकालले यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, उनले नेपाल र भुटानजस्ता भूपरिवेष्ठित मुलुकका लागि सुख्खा बन्दरगाहको विकास गर्नुपर्ने र व्यापार लागत कम गर्न र समग्र सञ्जाल बढाउन ती बन्दरगाहको सञ्जाललाई सुधार गर्नुपर्ने बताए ।

नेपालजस्ता भूपरिवेष्ठित मुलुकका लागि विद्यमान विमानस्थलको सहज सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्दै उनले बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गर्न आग्रह गरे ।

ढकालले व्यापार सहजीकरण दिगो विकासको मेरुदण्ड भएकाले यसबाट लाभ लिन बिमस्टेक राष्ट्रहरूबीचको व्यापार प्रक्रियालाई सरल बनाउनुपर्ने स्पष्ट पारे । उनले व्यापार प्रक्रियामा सुधार गरेर विश्व बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन बिमस्टेक क्षेत्रमा महत्वपूर्ण पहल भइसकेको भए पनि धेरै काम गर्न बाँकी रहेको बताए ।

‘सेवा क्षेत्रमा सहयोग सुदृढीकरण’ विषयक सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कुनै पनि राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदानका बारेमा चर्चा गरे । उनले पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधिलगायतका उद्योगमा बिमस्टेक क्षेत्रका निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए ।

महासंघका पूर्वअध्यक्ष भवानी राणाले बिमस्टेक क्षेत्रमा महिला उद्यमीबीच सञ्जालको आवश्यकता र महिला उद्यमीको क्षमता अभिवृद्धिको महत्वबारे स्पष्ट पारिन् ।

महासंघका कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका अध्यक्ष मनोज पौडेलले ब्लु इकोनोमी र माउन्टेन इकोनोमीबीचको सहकार्यको महत्वमा जोड दिए । उनले हिमालय र बंगालको खाडीलाई समेटेर बिमस्टेक क्षेत्रका अनुपम भौगोलिक लाभहरूमाथि प्रकाश पारे ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले ‘ग्लोबल भ्यालु चेनमा एमएसएमईका लागि सिमलेस इकोसिस्टम सिर्जना’ शीर्षकको सत्रमा बिमस्टेकभित्र एमएसएमई विकास केन्द्र खोल्न आवश्यक रहेको बताए ।