• Menu

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ साउन २३, बुधबार १५:४२

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
सांकेतिक तस्बिर ।

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

दिउँसो १:५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना र १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ ।

साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उनले बताए । खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।