• Menu

त्रिवेणी मोटोकर्पले सुरु गर्‍यो कामा ब्रान्डका ईभीको बिक्री

नेपाल प्रफिट

२०८१ साउन २३, बुधबार १०:५९

त्रिवेणी मोटोकर्पले सुरु गर्‍यो कामा ब्रान्डका ईभीको बिक्री

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डका ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसको बिक्री सुरु गरेको छ ।

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि त्रिवेणी ग्रुपअन्तर्गतको त्रिवेणी मोटोकर्पले आयात गरी बिक्री सुरु गरेको हो ।

त्रिवेणी मोटोकर्प चीनको स्याङ्डो कामा अटोमोबाइल कम्पनीको आधिकारिक वितरक हो । स्याङ्डो कामामा चीनका ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्मातामध्येका एक रहेको र यस कम्पनीका उत्पादन विश्वका ६० देशमा बिक्री वितरण हुँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पिक अप भ्यानको बिक्री गरिरहेको छ ।

बिजुली गाडीको प्रवर्धनमार्फत वातावरण सुधारमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभका लागी कार्य गर्ने उद्देश्य लिएको त्रिवेणी मोटोकर्पले जनाएको छ ।

११ र १४ सिट क्षमताका कामा ईभी माइक्रोमा क्रमश: ३५ र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । कामाका सबै इलेक्ट्रिक भ्यानमा सीएटीएल ब्याट्री जडित छ ।

उक्त रेन्जहरु ४० किमी प्रतिघण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० किमीको रेन्ज सजिलै पाइने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । साथै, आवश्यक पार्टहरुको व्यवस्था पनि गरिसकेको जनाइएको छ ।

बिक्रीपछिको सेवाका लागि प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेकाले ढुक्कसँग कामा ब्रान्डका गाडी छनौट गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले सर्भिससम्बन्धी व्यवस्थाको निरीक्षण तथा भ्रमण गरी निश्चिन्त हुन पनि ग्राहकमा अनुरोध गरेको छ ।