काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार १४५.०५ अंकको पहिरो जाँदा लगानीकर्ताले २ खर्ब ३० अर्ब रुपैयाँ गुमाएका छन् । बजारमा उच्च अंकको गिरावट आउँदा कुल बजार पुँजीकरण ४४ खर्ब ३८ अर्बबाट ४२ खर्ब ८ अर्ब रुपैयाँमा झरेको हो ।
मंगलबार नेप्सेमा सूचीकृत सबै समूहमा गिरावट आएपछि समग्र बजार परिसूचक ५.१८ प्रतिशतले ओरालो लागेको छ । विश्व सेयर बजारको प्रतिकूल प्रभाव नेपाली लगानीकर्तामा पनि परेको हो । एसियालीसँगै अमेरिकी सेयर बजारमा समेत उच्च गिरावट आउँदा नेपालका लगानीकर्ताको पनि मनोबल खस्किएको सेयर बजार विश्लेषक बताउँछन् ।
आज दुईवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । नेप्सेमा २३३ कम्पनीका लगानीकर्ता उच्च क्षति व्यहोर्दा थ्री स्टार हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, मैलुङ खोला जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला, आरम्भ चौतारी लघुवित्त र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेको छ ।
यीमध्ये आज थ्री स्टार र कुथेली बुखारीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । बजारमा पहिरो जाँदा अन्य ६ कम्पनीका लगानीकर्ता पनि भाग्यमानी सावित भएका छन् ।
मंगलबार कारोबार रकमले भने रेकर्ड बनाएको छ । ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको हो । यो रकम नेपालको सेयर बजार इतिहासमा हालसम्मकै उच्च हो ।
यसअघि साउन १६ गते २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको सेयर कारोबार भएको थियो ।