काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४७ प्रतिशतले बढेको छ । नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंकमा उक्लिएको हो ।
आज ३२६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर दुई लाख ३८ हजार ७८ पटक खरिद–बिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै ६.६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह ३.०९, लगानी ३.५२, जीवन बिमा ३.२३, निर्जीवन बिमा १.२५, व्यापार ५.७ र अन्य समूह ५.७३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने घटेको छ ।
आठवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सगरमाथा जलविद्युत् कम्पनी र कुथेली बुखारी स्मल हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी ऊर्जा कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको एक अर्ब २६ करोड चार लाख रुपैयाँबराबरको १५ लाख ४९ हजार ९८ कित्ता सेयर किनबेच भएको छ ।