• Menu

लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ साउन २०, १६:५६

लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् ।

एमालेमा हालै मनोनित उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका लागि आइतबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको बताए । मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको उनको तर्क छ ।

लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने प्रधानमन्त्री ओलीले बताए ।

‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र सांगठनिक रुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको जिकिर गरे ।