काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट करिब अढाई अर्ब रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने भएको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको खुद नाफाबाट लगानीकर्तालाई दुई अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरण गर्न सक्ने देखिएको हो ।
वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्ष २०७९/८० को तुलनामा भने ४.५ प्रतिशत घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कमाएको कम्पनीले आव २०८०/८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ कमाएको हो ।
बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ३६ रुपैयाँ ७५ पैसा प्रतिसेयर आम्दानी रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको हो । त्यस्तै प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । बैंकले गत वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो ।
बैंकको निष्क्रिय कर्जा १.१८ प्रतिशतबाट बढेर २.१४ प्रतिशत पुगेको छ । लोन लस प्रोभिजनका लागि बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको वित्तीय विवरणमा उल्लेख छ ।
चुक्ता पुँजी ९ अर्ब ४२ करोड रहेको कम्पनीको जगेडा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ छ । बैंकको आधार दर ६.६ प्रतिशत छ ।