• Menu

कक्षा १२ को नतिजा सार्वजनिक, दुई लाख तीन हजार परीक्षार्थी उत्तीर्ण

नेपाल प्रफिट

२०८१ साउन १८, शुक्रबार १३:५६

कक्षा १२ को नतिजा सार्वजनिक, दुई लाख तीन हजार परीक्षार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए । यस वर्षको नतिजामा गत वर्षको तुलनामा ३ प्रतिशत वृद्धि भएको छ ।

बोर्डका अनुसार गत वैशाख १४ देखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार ९३३ छात्र र एक लाख ९६ हजार ९१४ छात्रा गरी तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

परीक्षामा ३.६१ देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ । जसमा बागमती प्रदेशबाट ६ हजार ७५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जीपीए ल्याएका छन् ।

त्यसैगरी ४६ हजार ८९३ विद्यार्थीले ३.२१ देखि ३.६० सम्म जीपीए र ७८ हजार ७५ विद्यार्थीले २.८१ देखि ३.२० सम्म जीपीए ल्याएका छन् ।

परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७.०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार ६३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

ग्रेड वृद्धितर्फ २०७८ र २०७९ का २८.२६ प्रतिशत र २०७६ र २०७७ सालका ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

यसअघि २०७८ सालको नतिजामा ४६.०४ प्रतिशत र २०७९ सालको नतिजामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेको परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात् अनुत्तीर्ण आउँछ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा लग इन गरी हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिन्छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने बोर्डले जनाएको छ ।