काठमाडौं । ग्लोबल आइएमई बैंक र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जका १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रुपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालय तथा नेपालभर रहेका आइएमई लिमिटेड र जीएमई रेमिटका ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिन्छ ।
सम्झौताअनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ११०० भन्दा बढी सेवा केन्द्र छन् ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।