• Menu

नेप्से ५ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार, पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८१ साउन १७, १५:१८

नेप्से ५ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार, पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ५ अंकले घटेको छ । केही दिनदेखि बढेको बजारमा अल्पकालीन लगानीकर्ताका कारण बिक्री चाप बढेपछि बजार घटेको हो ।

आज वित्त, होटल, लगानी, जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमाबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ अंकमा झरेको छ ।

कारोबारको मध्य समयमा आज नेप्से परिसूचकले २८०५ अंक पनि पार गरेको थियो । तर, बिक्री चाप बढेपछि बजार घटेर आजका लागि कारोबार बन्द भएको छ ।

आज पनि २१ अर्ब ७१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम दोस्रो ठूलो हो । हिजो बुधबार नेप्से इतिहासकै उच्च २१ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आज बजार घट्दा पनि जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ७४ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १६४ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । तीन कम्पनीको मूल्यमा परिवर्तन भएन । आज ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच भएको छ ।