काठमाडौँ । लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्य सचिव बनेकी छन् । सरकारले कायम मुकायम मुख्य सचिव गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को आज बिहीबारको बैठकले गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनी सचिवका रुपमा कुनै मन्त्रालयको जिम्मेवारी नलिई एकै पटक मुख्यसचिव बनेकी छन् ।
नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसक्दा एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । गड्तौला २०५२ पुस २६ मा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेकी थिइन् ।
कानुन अधिकृतमा एक नम्बरमा नाम निकालेकी उनले उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले दोस्रो प्रयासमा मात्र नाम निकालिन् ।
२०७० माघ ९ मा सहसचिवमा बढुवा भएकी गड्तौला २०७७ कात्तिक २७ मा सचिवमा बढुवा भएकी थिइन् ।